पहिरोमा परी बेपत्ता भएका अझै भेटिएनन् , बालकको मृत्यु

| प्रकाशित मिति: शनिबार, साउन २८, २०७४

पाँचथर, २८ साउन । फालेलुङ गाउँपालिका–३ स्थित ताङलेपामा रहेको नेवा खोलामा आएको पहिरोका कारण बेपत्ता भएका व्यक्तिको खोजी भइरहेपनि अझै भेटिएका छैनन् ।

भैरवीदल गण, ओदिन ब्यारेकको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी कार्य जारी राखेपनि अहिलेसम्म उनीहरुको अवस्था पत्ता नलागेको भैरवीदल गणका गणपति शिवराम पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारदेखि नै उद्धारमा खटिएपनि अहिलेसम्म बेपत्ता भएका विष्णु राई, उनकी छोरी गंगा र नातिनी प्रियाको अवस्था अज्ञात रहेको छ । हाइड्रो रुँग्न बसेका उनीहरुलाई शुक्रबार आएको पहिरोले बेपत्ता बनाएको थियो । यस्तै, सोही वडाको खोलाघारीमा दुई घर बगाएको छ ।

स्थानीय दीलबहादुर राई र कर्णबहादुर राईको घर बगाएको स्थानीय दीपसन पौडेलले बताउनुभयो । यस्तै, सोही स्थानका २० घरपरिवार निरन्तर पहिरो झरेपछि विस्थापित भएका छन् ।

अहिले उनीहरुलाई खुला चौरमा लगेर त्रिपाल टाँगेर राखिएको उहाँले वताउनुभयो । अहिलेसम्म कुनै पनि निकायले राहत सामग्री पु¥याउन नसकेको पीडितले बताएका छन् ।

अहिलेसम्म २१ वटा पशु चौपाया मरेको स्थानीयले बताएका छन् । यस्तै, फालेलुङ–१ स्थित चोक्पाङदेनमा घरमाथिबाट आएको पहिरोले किचेर स्थानीय ८३ वर्षीय त्रिलोचन विकको मृत्यु भएको थियो । साथै, सोही स्थानका तीनजनाको घर खेत पहिरोले बगाएको थियो ।

पुल बगाएपछि उपचार नपाउँदा बालकको मृत्यु

यसैबीच, सडक बिग्रिएर समयमै उपचार नपाउँदा फिदिम नगरपालिका–७ रानीटारका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रानीटार–७ का नरबहादुर गुरुङका १७ वर्षीय छोरा रानीटार माविमा कक्षा ९ मा अध्ययनरत यामबहादुर गुरुङ छन् ।

टाइफाइड भएर सिकिस्त बिरामी भएका उनलाई शुक्रबार उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय वीरेन्द्र बास्कोटाले बताउनुभयो ।

फिदिम नगरपालिका–१ र ७ को सीमाना भएर बग्ने नाम्दू खोलामा दुई दिनअघि पहिरोले पुल बगाएपछि अहिले फिदिम नगरपालिका वडा नम्बर १, ७, ८, ११, १२, १३ र १४ का स्थानीयवासी मर्कामा परेका छन् ।

अहिले पुल बगाएपछि मानिस आवतजावत गर्न नै समस्या भएको, सवारी साधन त चल्ने अवस्था नै नरहेको स्थानीय प्रदिप बास्कोटाले बताउनुभयो ।

अहिलेसम्म पुल नबनेपछि फिदिम नगरपालिका वडा नम्बर ७, ८, १३ र १४ मा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ भने गाउँमा उत्पादन भएको अदुवा निर्यात हुन नसक्दा कुहिएर वसेको छ ।

मेमेङ र एकतिन अन्धकारमा

वर्षासँगै आएको पहिरोका कारण त्यस भेकका तीनवटा साना लघुजलविद्युत् परियोजनामा क्षति पुगेपछि अहिले स्थानीयबासी अन्धकारमा बस्न बाध्य छन् । साढे १३ किलोवाटको निवा खोला साना जलविद्युत् परियोजना पहिरोले बगाएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

अहिले त्यस क्षेत्रका ४१० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । यस्तै, १९ किलोवाटको निबु खोला साना जलविद्युत् परियोजनामा पहिरोले क्षति पु¥याएपछि त्यस भेकका २५० घरधुरी र ४५ किलोवाटको ख्यातलुङ लघुजलविद्युत् परियोजनामा पनि पहिरोले क्षति पु¥याएपछि अहिले त्यस भेकका ५६२ घरधुरी अन्धकारमा बस्न बाध्य भएको स्थानीयले बताएका छन् ।

The post पहिरोमा परी बेपत्ता भएका अझै भेटिएनन् , बालकको मृत्यु appeared first on Etajakhabar.

NO COMMENTS

LEAVE A REPLY