Blog Page 2624

निर्वाचन आयोगले भन्यो-पश्चिम नेपालमा विप्लव माओवादीबाट ‘थ्रेट’

२४ बैशाख, काठमाडौं । पश्चिम नेपालमा विप्लव माओवादीबाट निर्वाचनमा सुरक्षा चुनौति रहेको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार आयोजित कार्यक्रममा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट पश्चिम नेपालका केही जिल्लाहरुमा सुरक्षा चुनौति रहेको जानकारी दिएका हुन् । तर सुरक्षा प्रवन्ध मिलाइएकाले ढुक्कर भएर निर्वाचनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे ।

मतदान अधिकृतहरु सोमबारबाट सबै निर्वाचन केन्द्रमा जाने उनले जानकारी दिए । टाढाका केही निर्वाचन अधिकृतहरु भने आजै सम्बन्धित केन्द्रमा प्रस्थान गरिसकेको प्रमुख आयुक्त यादवले जानकारी दिए ।

झापा र इलाममा शव भेटियो

२४ वैशाख, झापा । झापा र इलाममा आइतबार दुई वटा शव भेटिएको छ ।

झापाको बिर्तामोड-३, कछुबारीका ४० वर्षीय दिपेन महतो र इलाम, माङसेबुङ-३ घर भई हाल माई-७ बस्दै आएका शुकमान राईका ४ महिने छोरीको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार बेलुका खाना खाएर कोठामा सुतेका महतोलाई विहान श्रीमतिले अचेत अवस्थामा भेटेकी थिइन् । बिर्तासिटी हस्पिटलले उनलाई मृत घोषणा गरेको छ ।

झापा र इलामको दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘काले दाइ’ हिट भएपछि ‘पर्व’ को नयाँ गीत रिलिज, नम्रता र कोशिशको प्रेमभाव


चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शकको साथ पाइसकेको छ । यो गीत अहिले दर्शकको मुखमा झुन्डिएको छ ।

पहिलो गीतले १ करोड भन्दा बढी दर्शक पाएपछि यसको निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरेको छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘जिन्दगानी तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ ।

यो गीतको दृश्य उत्कृष्ट छ । साथमा, चलचित्रका मुख्य कलाकार नायिका नम्रता श्रेष्ठ र गायक तथा नायक कोशिश क्षेत्रीको केमेष्ट्री गजबको देखिएको छ । चलचित्रमा माला लिम्बु, केशव भट्टराई, जेविका कार्की लगायतका कलाकारको पनि अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, वनिष शाहको सम्पादन, चन्द्र पन्तको एक्सन यो चलचित्रमा छ । सस्पेन्स थ्रीलर कथामा बनेको यो चलचित्रको ट्रेलर पनि रुचाइएको छ । यो चलचित्र जेठ १२ गतेबाट देशभर रिलिज हुँदैछ ।

खगेन्द्रको ‘धनपति’मा यस्तो लुक, द्धन्द्धको चपेटामा परेको सानाकाजीको कथा

टुकी आर्टस् प्रालि र दीपेन्द्र के खनाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘धनपति’को फस्टलुक रिलिज गरिएको छ । मोसन पोष्टरको रुपमा सार्वजनिक गरिएको प्रचार सामाग्रीमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने र सुरक्षा पन्तको लुक्स देखाइएको छ ।

राजनीतिक विरासत बोकेको सानाकाजी अर्थात धनपति द्धन्द्धको चपेटामा परेपछि काठमाण्डौ आएर बसेको हुन्छ । सार्वजनिक विज्ञप्तीमा भनिएको छ-‘गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलवा उसँग कुनै पनि अन्य आयस्रोत छैन । इमान बेच्न नचाहने धनपति स्वाभिमानी छ ।’

यो चलचित्रको प्रदर्शन मिति असार २३ लाई तोकिएको छ । खगेन्द्र लामिछानेले नै यो चलचित्रको कथा लेखेका हुन् । चलचित्रमा आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सूर्य थोकरको एक्सन, आधासुरको संगीत, दिर्घ खड्काको सम्पादन, दीपेन्द्र के खनालकै छायांकन छ ।

ओम गुरुङ सहायक निर्माता रहेको चलचित्रमा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा छन् । रोजिना सिटौलाको लगानी रहेको चलचित्रको बिषयमा निर्देशक खनाल भन्छन्-‘मेरो फिल्मी जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको चलचित्र ‘धनपति’ हो ।

यस्तै, चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने भन्छन्-‘पशुपति प्रसाद हेरिसक्नु भएका दर्शकले मबाट बढी नै अपेक्षा राख्नु भएको होला । यो चलचित्रले त्यो पुरा गर्छ ।’

अमेरिकाले राख्यो अहिलेसम्मकै शक्तिशाली बमको नाम ‘मदर अफ अल बम्स’, पोपको आपत्ति

काठमाडौं, २४ वैशाख । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली बमको नाम ‘द मदर अफ अल बम्स’ राखेकोप्रति इसाइ धर्मगुरु पोप फ्रान्सिसले आपत्ति जनाएका छन् ।

पोपले आमाले सन्तानलाई जन्म दिने र बमले मृत्यु दिने भएकाले किन यस्तो नाम राखियो भन्दै प्रश्न गरेको बिबिसीले जनाएको छ । पोपले ‘त्यो नाम सुनेपछि मलाई लाज लाग्यो । आमाले सन्तानलाई जन्म दिन्छिन् तर त्यो बमले मृत्यु दिन्छ, त्यस्तो वस्तुलाई हामी आमा भन्छौँ, किन यस्तो गरेको होला ?,’ प्रश्न गरेका छन् ।

बिबिसीका अनुसार भ्याटिकनमा विद्यार्थीको एउटा समूहलाई सम्बोधन गर्दै पोपले अमेरिकी सेनाले फौजी कारवाहीमा प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली गैरपरमाणु बमको नामप्रति आपत्ति जनाएका हुन् । अमेरिकी सेनाले उक्त बमको वास्तविक नाम एमओएबी अर्थात् जीबीयु/फोर थ्री बी म्यासिभ ओर्डनेसन एअर ब्लास्ट बम’ भनेको छ । उक्त बमलाई अग्रेजी चलन चल्चीमा ‘मदर अफ अल बम्स’ भनिएपछि पोपले त्यसप्रति आपत्ति जनाएका हुन् । जसको नेपाली अर्थ ‘बमहरुकी आमा’ भन्ने हुन्छ।

अमेरिकाले केही समयअघि मात्र इस्लामिक स्टेटविरुद्ध करिब १० हजार किलोको उक्त बम प्रहार गरेको थियो ।

The post अमेरिकाले राख्यो अहिलेसम्मकै शक्तिशाली बमको नाम ‘मदर अफ अल बम्स’, पोपको आपत्ति appeared first on Sajha Post.

पवित्र बज्राचार्यको अनुभवः काठमाडौं बिगार्ने कांग्रेस, एमाले र माओवादी हुन्

२४ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा २८ जनाको उम्मेद्वारी परे पनि मुख्य चर्चामा अहिलेसम्म ४ जना छन्- राजुराज जोशी, विद्यासुन्दर शाक्य, किशोर थापा र रञ्जु दर्शना । हामीले चुनावी बहसको डिस्कोर्समा अर्का उम्मेद्वार फेला पार्‍यौं- पवित्र बज्राचार्य, जसले फ्लाइओभरको साटो महानगरपालिकाको फोहोरको कुरो गरे ।

नयाँबानेश्वरस्थित एक कफीसपमा अनलाइनखबरको निम्तो स्वीकार्दै एकजना हँसमुख उम्मेद्वार छिरे । हातमा मोटरसाइकलको चाबी थियो । हात मिलाउँदै उनले स्थानीय नेवारी लवजमा भने- ‘ढुलो पनि कत्ति धेरै ! जामले गर्दा गाडी छाडेर मोटरसाइकलमा दौडिएर आएको, जिउभरि ढुलो लाग्यो !

हामीले मेयरका उम्मेदवार बज्राचार्यसँग हल्का ठट्टाबाट कुरो सुरु गर्‍यौं- ‘काठमाडौंको मेयरको उम्मेदवार बन्नुभएको छ, अरुले जस्तै धुलो र जाम हटाइदिन्छु, फ्लाइओभर बनाउँछु, रेल कुदाउँछु भने भैहाल्यो नि अब । केको धुलो को चिन्ता ?’

जवाफमा उनी एकाएक प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रतिर खनिए । ‘१० वर्षदेखि महानगरपालिकाको संयन्त्रमा बसेर बजेट खेलाएका उनीहरुले चुनावअघि काठमाडौंको धुलो देखेका थिएनन् ?’ बज्राचार्यले भने- ‘यो महानगरलाई यस्तो हालतमा पुर्‍याउने उनै कांग्रेस, एमाले र एमाओवादी हुन् ।’

ठूला दलविरुद्ध निर्मम रुपमा प्रस्तुत भएका बज्राचार्य मसाल चुनाव चिन्ह लिएर काठमाडौं महानगरपालिकाको मेयरमा लड्दैछन् । उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका साझा उम्मेदवार हुन् । तर, उनी नयाँ शक्तिका कार्यकर्ता होइनन् । उनी संघीय समाजवादीका हुन् । तथापि उनी आफूलाई राजनीतिज्ञ कम र सामाजिक अभियन्ता भन्न बढी रुचाउँदा रहेछन् ।

बज्राचार्यले आफूलाई पूर्वमेयर केशव स्थापितभन्दा लोकपि्रय रहेको दाबी गरे । विगतमा आफू एमालेबाट मेयरमा उठ्नै लागेका बेला स्थापितले टिकट पाएको उनले बताए ।

को हुन् पवित्र बज्राचार्य ?

काठमाडौंको मेयरका लागि चुनावी प्रतिस्पर्धामा होमिएका पवित्र बजा्रचार्य को हुन् भन्ने धेरै मतदाताहरुलाई थाहा छैन । त्यसैले हामीले उनका चुनावी एजेण्डा र महानगरको विकासे भिजन सुन्नुअघि उनको पृष्ठभूमिबारे जान्न चाह्यौं । उनले आफ्नो परिचय र पहिचान यसरी खुलाएः

म २०१५ सालमा झोंछेमा जन्मिएको हुँ ।त्यहाँ अहिले मेरो पसल छ । मैले व्यवस्थापन विषयमा एमबीए गरेको छु । काठमाडौं महानगरमा विद्यार्थीकालमै वडासमिति सदस्य भएको म तीन कार्यकाल वडा अध्यक्ष निर्वाचित भइसकेको छु । बुहदल आएपछि सूर्यचिन्ह लिएर वडाध्यक्ष जितेपछि कार्यवाहक मेयर भएरसमेत काम गरेको अनुभव छ । पीएल सिंह र केशव स्थापित दुबैको कार्यकालमा म काठमाडौं महानगरपालिकामा वडाध्यक्ष निर्वाचित भएको व्यक्ति हुँ ।

मेरा बुबा परमानन्द बज्राचार्य गणेशमानहरुसँगै राणाविरोधी आन्दोलनमा लालाग्नुभएको थियो । उहाँलाई मृत्युदण्डको सजायँ सुनाइए पनि बच्ँनुभयो । उहाँ राजनीतिक पीडित हुनुहुन्थ्यो ।

म सररस्वती क्याम्पसमा आइए पढ्दै थिएँ, त्यही बेला बुबा बित्नुभयो । सानैमा परिवारको दायित्व सम्हाल्नुपर्‍यो । त्यसपछि हामीले पसल चलाउन थाल्यौं । अहिले पनि म खुद्रा पसलेहरुको व्यवसायिक संगठनको अध्यक्ष छु ।

पञ्चायतकालमा काठमाडौंको स्थानीय चुनाव भयो । मेरो वडाबाट शिद्धिचरण श्रेष्ठका छोरा रविचरण श्रेष्ठ वडाअध्यक्षमा उठ्नुभयो । म सदस्यमा उठें र चुनाव जितें । म त्यसबेला कलेज गइराखेको थिएँ । शंकरदेव क्याम्पसमा बीकम पढ्दै थिएँ ।

रविचरणले वडा कार्यालयमा नससहरुलाई नोकरजस्तै व्यवहार गर्थे । होच्याउथे । अर्को पटक म आफैं वडाअध्यक्षमा उठें र जितें । मैले सबै नससहरुलाई समान व्यवहार गर्न थालें । उनीहरुको काम विभाजन गरें । उनीहरु कोही पनि कामविहीन भएनन् । पाँचैजनाले काम गर्न पाए । मलाई पनि काम हल्का भयो । वडाध्यक्ष हुँदाहुँदै पसलमा बस्न पनि भ्याउने, कलेज जान पनि पाउने । मैले काठमाडौं २३ को वडाध्यक्ष भएकै बेला एमबीए सिध्याएँ ।

पञ्चायतविरुद्ध ०४६ सालको आन्दोलनका बेला हामीलाई पञ्चायतको भण्डाफोर गरेको भन्दै निलम्बन गरियो । हामी त्यसबेला रापंस सदस्य पदमरत्न तुलाधारबाट प्रभावित थियौं । हामी त्यसबेला जनपक्षीय भनेर चिनिन्थ्यौं । त्यसैले कतिपय समय अन्डरग्राउण्ड पनि बस्नुपर्‍यो ।

आन्दोलन सफल भएपछि ०४९ को स्थानीय चुनावमा पनि मैले २३ नम्बर वडाध्यक्षमा जितें । बहुदल आएपछि मैले स्वतन्त्रबाटै चुनाव जितेको थिएँ । ०५४ को दोस्रो स्थानीय चुनावमा चाहिँ एमालेको सूर्य चिन्हबाट जितेको हुँ ।

पछि मलाई संघीय समाजवादीमा मंगलसिद्धी मानान्धरले लगाउनुभएको हो । उहाँ र हामी एउटै टोलको हो ।

दोस्रो संविधानसभामा म संघीय समाजवादीबाट सभासदमा उठेको थिएँ । तर, धेरै भोट आएन । तैपनि केशव स्थापितको भन्दा मेरो दोब्बर भोट आयो । त्यसबेला केशव स्थापितले काठमाडौं ६ मा चुनाव लड्दा १ हजार भोट मात्रै ल्याएका थिए ।

म काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि हुनुका साथै महानगरभित्र विभिन्न सामाजिक संघ संगठनमा आवद्ध छु । म खुद्रा व्यवसायी संघको महासचिव हुँदै अध्यक्ष बनें । अहिले तेस्रो कार्यकालको अध्यक्ष छु । उपभोक्ता हित संरक्षण मञ्चको कोषाध्यक्ष पनि भएँ । त्यसबेला डा. सुन्दरमणि दीक्षित अध्यक्ष हुनुहुन्थ्यो ।

व्यापारीको छवि

आफ्नो पृष्ठभूमिबारे संक्षिप्त व्याख्या गरेपछि बज्राचार्यले व्यापारीहरुको पीडाका विषयमा व्याख्या गरे । समाजमा व्यापारीहरुलाई हेर्ने नजरमा परिवर्तन ल्याउन आफूले ‘मध्यस्थ’ एवं व्यवस्थापकीय काम गरेको उनले दाबी गरे । बज्राचार्यले भने-

रिटेलर (खुद्रा व्यवसायी ) हरुलाई मैले नाफामात्रै होइन, उपभोक्तको हितमा काम गर्ने सफथ खानुपर्ने व्यवस्था गरें । अहिले रिटेलरहरुमा थुप्रै परिवर्तन आएको छ । व्यापारीलाई मानिसहरुले कालोबजारिया भनेर गाली गर्थे । तर, मैले आफू रिटेलर भएर पनि उपभोक्ताको हितमा काम गरेवापत विश्व उपभोक्ता अधिकार दिवसमा सम्मानसमेत पाएँ ।

भूइँचालो र नाकाबन्दीका बेलामा मैले काठमाडौंमा ठूलो भूमिका खेलें । यस्तो प्रकोपका बेला खाद्यान्न अभाव हुने, कालोबजारी हुने, र कतिपय अवस्थामा व्यापारीका सामानहरु हराउने हुन्थ्यो । भूकम्पको भोलिपल्टसम्म पसल खुलेनन् । एउटा वाइवाईको सय रुपैयाँ लिएको गुनासो समेत आयो ।

मैले त्यसबेला रिटेलरहरुले उपभोक्तालाई सघाउनुपर्ने बताए । त्यस्तो बेलामा ठूला व्यापारीले भाऊ बढाउँछन् तर, हामी रिटेलरहरुले राम्रो काम गर्नुपर्छ भनेर जापानीहरुबाट सिकेको पाठ व्यवहारमा लागू गरें । त्यसले गर्दा बजार सामान्य भयो ।

नाकाबन्दीका बेलामा पनि मैले काठमाडौंमा तीन महिनालाई पुग्ने खाद्यान्न छ भनेर सर्वाजनिकरुपमा बोलें । यसले गर्दा बजारमा भाऊ वृद्धि भएन । बजार सहज भयो । महंगी पनि भएन, अभाव पनि भएन । एउटा कार्यक्रममा व्यापारीलाई गाली गर्न बोलाएका थिए, मेरो कुरा सुनेपछि पत्रकारहरुले व्यापारीको साटो सरकारलाई गाली गरे ।

नाकाबन्दीका बेलामा काठमाडौंमा सरकारले आपूर्ति गर्ने पेट्रोल र डिजेलमा अभाव भयो, तर हामीले दैनिक उपभोग्य सामानमा अभाव हुन दिएनौं । म अध्यक्ष रहेको खुद्रा व्यवसायी संघमा करिब ३६ सय सदस्यहरु छन् । हामीले आह्वान गरेका कारण भूकम्प र नाकाबन्दी दुबै संकटका बेला काठमाडौंमा उपभोक्ता र व्यापारीवीचको सम्बन्ध सुमधुर रह्यो ।

अहिले पनि मेरो आफ्नै पसल छ । वडाध्यक्ष हुँदा पनि मैले पसल चलाइरहें, जसले गर्दा मैले कसैसँग घुस खानै परेन, आफ्नै कमाइबाट घर व्यवहार चलिरहेको छ ।

महानगरमा काम गर्दा तीता-मीठा अनुभव

मेयरका उम्मेदवार बज्राचार्यले महानगरपालिकामा काम गर्दाका अनुभवहरु यसरी सुनाएः

म महानगरको वडाध्यक्ष भएकै समयमा पीएलसिंहको समयमा मेनचेस्टरमा एउटा सम्मेलन भएको भएको थियो । त्यो सम्मेलनमा बस्न लायकको शहर कसरी बनाउने भन्नेबारे छलफल भएको थियो । त्यहाँ मैले सहभागिता जनाएँ ।

त्यसको दुई बर्षपछि टर्कीको स्तानुबुलमा त्यस्तै कार्यक्रममा सहभागी हुने मौका पाएँ । त्यहाँ मैले मध्यरातमा कसरी शहरको फोहोर उठाउँदा रहेछन् भनेर हेरें ।

जापानमा पनि मैले नगरपालिकाको कार्यक्रममा सहभागिता जनाएँ । चीनमा पनि मैले व्यापार मेलामा सहभागिता जनाएँ ।

मेयर अमेरिका र उपमेयर जापान गएका बेला काठमाडौं महानगरमा केही समय कार्यवाहक मेयरको जिम्मेवारी पनि निभाएँ । एमालेका ततकालीन महासचिव माधव नेपालले नै भनेर म केशव स्थापितलाई सघाउन सूर्यचिन्हबाट वडाध्यक्षको चुनाव लडेको थिएँ ।

हामीले विदेशमा भएका राम्रा कुराहरु नेपालमा पनि गर्न सक्छौं । तर, यहाँ गर्नै दिँदैनन् । जापानबाट मानिसहरु काठमाडौंको फोहोर व्यवस्थापनमा सघाउन आएका थिए, तर केशव स्थापितले वास्तै गरेनन् । मैले आफैं जानेको छु, तिमीहरुले सिकाउनुपर्दैन भनेर पठाइदिए । यहाँ त जम्मै कुरा के हुँदोरहेछ भने कसिमसन खाने ।

केशव स्थापितलाई मैले नै कुर्सीमा राखेर तोक लगाउनदेखि जम्मै कुरा सिकाएको हुँ । त्योबेला एमालेबाट मेयर हुने पालो मेरो थियो । मेरो दाइको ब्लड क्यान्सर भएकाले उपचारका लागि दिल्ली जानुपर्‍यो । त्यहीबेला केशव स्थापितले पार्टीमा दबाव दिएछन् र मलाई मेयरको टिकट नदिए एक लाख युवा संघका कार्यकर्ताहरु चुनावमा सक्रिय हुँदैनौं भनेछन् ।

मेयरमा स्थापितको नाम आएपछि मैले चुनावमा नठ्ने भनेको थिएँ । तर, माधव नेपालले मलाई पवित्र तिमीले उठ्नैपर्छ, केशवपछि तिम्रो स्टाटस हुन्छ, भनेको हुनाले म फेरि वडाध्यक्षमा उठें । तर, मेरो र केशवमा फरक के भयो भने मचाहिँ पैसा खान हुन्न भन्ने, उनले चाहिँ पैसा खानुपर्ने । यही भएकाले हाम्रो कुरा मिलेन ।

स्तानुबुल पनि काठमाडौंजस्तै पुरानै सहर हो । मैले रातिसम्म त्यहाँ हेरें । साँगुरो शहरमा राति आएर फोहोर उठाउँदोरहेछ । मैले काठमाडौंमा आएर त्यसै गर्न खोजें । तर, कोही पनि मानेनन्, हाम्रो नेपालको कल्चर नै राति फोहोर उठाउने हैन भन्छन् । हामीले बुझाउन सक्नुपर्‍यो । पहिले-पहिले पो अँध्यारो थियो, अहिले त बत्ती बलिरहेको हुन्छ । हामीले बोर्ड मिटिङमै कतिचोटि राख्यौं, मान्दै मानेनन् ।

अन्तिममा केशव स्थापितले तिमीले ल्याएको इस्युमा तिमीले नै काम गर्नुपर्छ भनेपछि मैले ओके भनें । मैले ३५ वटै वडाबाट दुई-दुई जना कुचीकार मलाई दिनुपर्छ भनें । अनि मैले टीभी, एफएम सबैमा विज्ञापन गर्न लगाएँ कि अबदेखि फोहोर राति ९ बजे फाल्ने, राति १० देखि १२ भित्र उठाउने । राति काम गर्ने कुचीकारले बिहान काममा आउनु नपर्ने ।

त्यसबेला महानगरले ४५ वटा मिनी ट्रक फोहोर उठाउनका लागि भाडामा लिएको थियो । महानगरमा प्रत्येक वडासँग एक/एकवटा ट्रकहरु थिए । तर, राति फोहोर उठाउन थालेपछि भाडाका ट्रक नै चाहिएनन् । बिहान फोहोर उठाउँदा बाँकी रहेको ठाउँमा दिउँसो पनि फाहेार हाल्दारहेछन् । तर, राति नै उठाउन थालेपछि उज्यालोमा कसैले फोहोर फालेनन् । शहर सफा भयो ।

यसो गर्दा काठमाडौं त यति सफा भयो कि बि्रटिस राजदूतले एउटा कार्यक्रममा केशव स्थापितलाई तिम्रो पालामा काठमाडौं सफा भयो भनेछन् । उनले मलाई धाप दिएर यो कुरा सुनाए ।

तर, पछि राति फोहोर उठाउने काम स्थापितले क्यान्सिल गरिदिए । कुचीकारहरु मानेनन् भने । तर, मलाई सबै कुचीकारहरुले मानिरहेका थिए । उनीहरुले राति एकछिन काम गरेर दिउँसो आफ्नो काम गर्न पाउँथे । यो किन क्यान्सिल भयो भने ट्रकहरु भाडामा लिएर कमिसन खान पाइरहेका थिए, राति काम गर्न थालेपछि कमिसन खान पाएनन् ।

अहिले काठमाडौंमा भएका जति पनि क्रसिङ ब्रिजहरु छन्, त्यसको डिजाजनसमेत हामीले गरेको हो । रत्नपार्क र राष्ट्रिय नाचघर अगाडिको ।

काठमाडौं महानगरका समस्या

काठमाडौंको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको फोहोर व्यवस्थापन हो । त्यसपछिको समस्या भनेको धुलो धुवाँ हो । अर्को भनेको ट्राफिक जामको समस्या हो । अर्को पार्किङको समस्या हो ।

थप समस्या भुइँचालोपछिका घरहरु हुन्, जुन भत्काउन पनि सकिएको छैन, बनाउन पनि सकिएको छैन । हेरिटेज साइटहरु खत्तम भइरहेका छन्, तिनलाई बनाउन सकिएको छैन ।

अरु समस्या भनेका यहाँको शिक्षा र स्वास्थ्यका कुराहरु छन् । यी ५/६ वटा कुराहरु प्रत्यक्षरुपमा तत्काल समाधान गर्नुपर्ने समस्याहरु हुन् ।
तर, हामीले खानै पाएको छैन, सुनको छाना राख्ने कल्पना गर्छौं । पहिले त खान पाउनुपर्‍यो, त्यसपछि पो अरु ठूलो कल्पना गर्ने हो त । अहिले जुन पार्टीहरुले भनिरहेका छन्, त्यो कुरा त्यस्तै हो । यहाँको आवश्यकता स्काइ घर होइन । तत्काललाई मोनोरेल पनि होइन । अहिले तत्कालको आवश्यकता भनेको व्यवस्थापन हो । फोहोर मैलाको पनि सही व्यवस्थापन नभएकै कारणले हामीले समस्या भोगिरहनुपरेको हो ।

किन बनेन काठमाडौं ? कसको दोष छ ?

हामीले केशव स्थापितकै पालामा केही फ्लाइओभर बनाउने सोचेका थियौं । पुरानो बसपार्क, सभागृह पछाडिबाट एउटा फ्लाइओभर कलंकीसम्म, एउटा फ्लाइओभर भक्तपुरसम्म र अर्को महाराजगञ्जसम्म । तीनवटा फ्लाइओभर बनाउने हामीले सानो योजना बनाएका थियौं । त्यो धेरै लामो पनि होइन ।

त्यहीबेला यो काम गरेको भए काठमाडौंमा यस्तो जाम हुँदैनथ्यो । तर, त्यसबेला सरकारले सहयोग गरेन । आजभन्दा २० वर्ष पहिले नै हामीले त्यो परिकल्पना गरेको कुरा हो । अहिले आएर त्यो गरेर कत्ति न नयाँ काम गर्न खोजेस्तो कुरा गरिँदैछ । यो पुरानै कुरो हो ।
अहिले स्मार्ट सीटी, मोनो रेल इत्यादि कुराहरु जुन आइराखेका छन्, यी कुराहरु कसले ल्याउँदैछन् भने एमाले र कांग्रेसले । एमाले कांग्रेस र माओवादी तीनवटाले ल्याएका छन् ।

तपाईहरुलाई थाहा हुनुपर्छ, महानगरपालिकामा राजनीतिक संयन्त्र भन्ने छ । त्यो राजनीतिक संयन्त्रमा प्रमुख
पार्टीका दुई-दुई जना मान्छे छन् । महानगरपालिकाको बजेट उनीहरुले ओके नभइकन पास हुँदैन । महानगरपालिकाका विकास निर्माणका कुराहरु उनीहरुले ओके नगरिकन पास हुँदैन ।

तीनवटै पार्टी मिलेर यहाँ महानगरपालिका चलाइराखेका छन् । के उनीहरुले अहिलेसम्म यो धूलो नदेखेका हुन् ? के यो हिलो र जाम नदेखेका हुन् ? यो पार्किङको असुविधा नदेखेका हुन् ? उनीहरुको दिमागमा अहिलेसम्म किन आएन यो कुरा ? ०६२/०६३ को आन्दोलनपछि देखि नै महानगरको संयन्त्रमा छन् उनीहरु ।

महानगरपालिकाको यो संयन्त्रमा विद्यासुन्दर पनि त्यही बेलादेखि छन् । सर्वोत्तम डंगोल पनि त्यही समयदेखि छन् । विद्यासुन्दर र रामवीर मानान्धरलाई एमालेले पठाएको थियो । कहिले रामवीरलाई पठायो, कहिले विद्या न्यौपानेलाई पठायो ।

अहिले महानगरपालिकाको त्यो संयन्त्रमा एमालेबाट विद्यासुन्दर शाक्य र विद्या न्यौपाने छन् । नेपाली कांग्रेसबाट देवरत्न महर्जन र भगवान शाक्य छन् । माओवादी केन्द्रबाट सर्वोत्तम डंगोल र उमेश नापित भन्ने छन् । जो उनीहरु आफैं अहिले मेयरको उम्मेद्वार छन् । उनीहरुले १० वर्षसम्म सोच्नुपर्दैनथ्यो त्यो कुरा ?

यतिका वर्षसम्म उनीहरुलाई त्यही महानगरपालिका ठीक थियो । भोट माग्नु नपर्दासम्म उनीहरुलाई यही काठमाडौं ठीक थियो । त्यसैले भोट लिनलाई मात्रै अहिले जनतालाई झुक्याउने कुरा गरिरहेका छन् ।

अहिले महानगरपालिकाको बजेटको कुरा गर्ने हो भने ७० प्रतिशत बजेट त तलब भत्तामै गइरहेको छ । ३० प्रतिशत बजेटमात्रै विकास निर्माणमा जान्छ । के यो बजेटले यिनीहरुले फ्लाइओभर बनाउन सक्छन् ? मोनोरेल ल्याउन सक्छन् यहाँ ?

उनीहरुले अहिले हचुवाका भरमा केही पनि अध्ययन नै नगरकिन जनतालाई झुक्याउनका लागि यस्तो-यस्तो कुराहरु ल्याइराखेका छन् ।
जनता पनि उस्तै छन् । गरेन भनेर एकछिन रिसाउँछन्, भोलि फेरि चुनाव आयो भने बाजेदेखि सूर्यमा र रुखमा छाप हालेको भनेर आफूले पनि त्यसै गर्छन् । यही ट्रेन्डको फाइदा राजनीतिक पार्टीहरुले उठाइरहेका छन् ।

मैले दोस्रो संविधानसभाको चुनावमा भाग लिँदा मलाई थाहा थियो, मैले जित्दिनँ । त्योबेला सबै ठाउँमा बोलेको कुरा यही थियो । जनताको हातमा सबैभन्दा ठूलो अधिकार आउने बेला भनेको चुनाव नै हो । यही चुनावमा हो, तपाईहरुले सही र गलत छुट्याउने । तर, यही अवसरलाई पनि तपाईहरु खेलाँची गर्नुहुन्छ । यदि सूर्यमा भोट हाल्नेले सूर्यमै र रुखमा हालेकाले रुखमै हालिरहनुपर्छ भन्ने हो भने अमेरिकामा सधैं एउटै पार्टीले मात्रै चुनाव जित्थ्यो होला ।

नेपालमा पार्टीहरुले जनतालाई झुक्याइरहेका छन् । जनता पनि झुक्किँदै गइरहेका छन् । यही कारणले हामीले ट्रेन्ड परिवर्तन गर्नुपर्ने भएको छ ।

हाम्रा आँखै अगाडि महानगरपालिकामा यस्ता घटनाहरु भइरहेका छन् । र, उही व्यक्ति महानगरपालिकाको उम्मेदवार बन्दैछ । महानगर चलाउँदा उसले कुनै परिवर्तन ल्याएको छैन । उसले भोट लिनका लागिमात्रै हामीलाई सपना देखाएको छ भने उसैलाई हामीले भोट दिन हुन्छ कि हुँदैन ? यो कुरा जनताले पनि सोच्नुपर्छ ।

तर, पवित्रलाई कसले राम्रो मान्छे भनिदिने ?

पहिलो संविधानसभामा काठमाडौं ८ बाट चुनाव हारेका ब्रजाचार्यलाई हामीले सोध्यौं- ‘तपाईले गरेका व्यवहारिक कुराहरुमा काठमाडौंका जनतालाई कन्भिन्स गर्न सकेको देखिएन नि ? यो तपाईको कमजोरी होइन र ?’

जवाफमा उनले यसो भने-

यो त तपाईहरुको काम हो । एकजना उम्मेदवारले अर्को उम्मेदवारलाई केही भन्न मिल्दैन । तर, मैले जे भनिरहेको छु, यो यथार्थ हो । त्यो दलहरुको संयन्त्र काठमाडौं महानगरपालिकामा अहिले पनि छ ।

म यदि पोलिटिकल मान्छे मात्रै भइदिएको भए म यो सबै गर्दैनथें होला । तर, मेरो प्रष्ठभूमि भनेकै सोसियल फिल्ड हो । सबैलाई राम्रो हुनुपर्‍यो भन्ने हो । महानगरपालिकामा हामी एमालेबाट गयौं । तर, राम्रो काम गर्दा कांग्रेसलाई सघायौं । पीएल सिंहलाई पनि सघायौं ।
मलाई के लागेको छ भने १९ वर्षदेखि स्थानीय तहको चुनाव भएको छैन । धेरै युवाले भोट हाल्दैछन् । उनीहरु ठूला भनिएका दललाई भोट दिन इच्छुक छैनन् । उनीहरु हाम्रो हैन, राम्रो मान्छेलाई भोट दिन चाहन्छन् । तर, पवित्र राम्रो मान्छे हो भनेर कसले भनिदिने ? मैले भनेर त हुँदैन ।

यदि साँच्चै रामो मान्छे जिताउन खोजेको हो र महानगरपालिकालाई हाँक्न सक्ने मान्छे जिताउने खोजेको हो भने त त्यो त मेरोमात्रै जिम्मेवारी होइन । यसमा त जसले मलाई चिनेको छ, मेरो विगत थाहा छ, उनीहरुले भूमिका खेलिदिनु पर्‍यो नि त । पवित्र बेस्ट हो भनिदिनुपर्‍यो नि त ।

रञ्जु दर्शनाको असन्तुष्टि

मेयरका दाबेदार बज्राचार्यलाई हामीले अर्को प्रश्न तेस्र्यायौं- दलहरुबाट विरक्त भएका युवा पुस्ताको भोट त तपाईलाई हैन, रञ्जु दर्शनालाई पो झर्ला जस्तो छ नि ?

रञ्जुबारे पवित्रको टिप्पणी यस्तो छः

रञ्जुप्रति मेरो कुनै विरोध छैन । रञ्जुबाट जुन कुरा आएको छ, त्यो अरु युवाहरुको जस्तै हो । जसरी अरु युवामा असन्तुष्टि छ, त्यही असन्तुष्टिकै विस्फोटन पनि रञ्जुमा भएको हो । मलाई के लाग्छ भने देशमा यस्तै युवाहरुको आवश्यकता छ ।

तर, महानगरपालिका भनेको खाली त्यो सरसफाइ, ढल, ट्राफिक जाम मात्रै होइन क्या ! महानगरपालिकाले त यति धेरै कुरा हेर्नुपर्छ, यति धेरै कुरा हेर्नुपर्छ । महानगरपालिकाको मेयरले मुद्दा पनि हेर्नुपर्छ । संसार हेर्नुपर्छ ।

उहाँ (रञ्जु) ले बोलिरहेका कुराहरु यही धुलो धुँवामा मात्रै सीमित छ । ढलका कुरा, खानेपानीका कुराहरु छन् । यी त खास समस्यै होइनन्, यी त सही ढंगबाट व्यवस्थापन नगरिएकाले मात्रै आएका समस्या हुन् ।

महानगरपालिकाभित्र त्यस्तो के छ ?

महानगरपालिकाभित्र यति धेरै खराबी छ, यसलाई त ओभरहल गर्नुपर्छ । त्यहाँ सामान्य सुधार मात्रै गरेर पुग्दैन । महानगरको नेतृत्व मात्रै गरेर पुग्दैन, त्यहाँको कर्मचारीतन्त्रमा नै परिवर्तन ल्याउनुपर्ने स्थिति छ ।

सरकारको कर्मचारीलाई चित्त बुझेन भने एउटा ठाउँबाट अर्को ठाउँमा सार्न पाइन्छ, महानगरबाट यहाँका कर्मचारीलाई त काहीँ पनि सार्न मिल्दैन । उनीहरु त बसेपछि बसे । महानगरका कर्मचारीहरुको यस्तो नेटवर्किङ छ, त्यो तोड्न नसकेरै कार्यकारीहरु फेल हुने गरेका छन् । सरकारले एकजना कार्यकारीलाई पठाएको थियो, प्रकाशमानलाई भनेर मलाई यहाँबाट हटाइदेऊ भने । कर्मचारीतन्त्रभित्र उसले कामै गर्न नसक्ने स्थिति भयो ।

काठमाडौं महानगरका कर्मचारीसँग मिलेर काम गर्‍यो भने उसले भागवण्डा पनि पाउँछ, मिलेन भने खेदाइन्छ । यस्तो छ महानगरपालिकाको स्थिति । त्यसैले महानगरपालिकामा त्यहाँभित्रको समस्या थाहा पाएको मान्छे जानुपर्छ । नबुझेको मान्छे गयो भने त्यहाँ ऊ जोक्कर हुन्छ ।

नेताले त निर्णय गर्छ, गर भन्छ । तर, गर्ने हातहरु त जम्मै तिनै कर्मचारीहरु हुन् । तिनीहरुले एउटा फाइल खोज्नै महिनौं लगाइदिए भने सिद्धिएन ? विगतमा हामीले मुद्दाको एउटा निर्णय गर्‍यौं, तर त्यसको निर्णय कपी नै कर्मचारीहरुले गायव गराइदिए । अदालतले फाइल झिकायो, तर महानगरमा माइन्युट बुकै भेटिएन । त्यस्तो ठाउँ छ काठमाडौं महानगरपालिका ।

महानगरका कर्मचारीले मात्रै सही ढंगले काम गरेको भए त अहिले कुनै पनि घरहरु नक्शा विपरीत बन्ने थिएनन् । नक्शा विपरीत घर बनेको भनेकै नगरपालिकाका कर्मचारीका कारणले हो । उनीहरुले सही काम नगरेकै कारणले मात्रै यस्तो भएको हो । सार्वजनिक जग्गा मिचेर घर बनेको पनि नगरपालिकाका कर्मचारीकै कारणले हो ।

यो जम्मै कुराहरु कसलाई थाहा छ ? रञ्जु दर्शनालाई पनि थाहा छैन, अरुलाई पनि थाहा छैन, तर मलाई थाछ । व्यवहारमा के भइरहेको छ, कसो भइरहेको छ, मलाई थाहा छ ।

किशोर थापा पनि त छन् नि ?

तर, मेयरको दौडमा शहरी विकास विज्ञ पूर्वसचिव किशोर थापा पनि त छन् नि ? यस्तो प्रश्न गर्दा बज्राचार्यले अरुची भाव प्रकट गरे । उनले थापाको नाम नलिई यसो भने-

एउटा उदाहरण दिन चाहन्छु- पुरूषोत्तम ओझा धेरै समय आपूर्ति सचिव हुनु भो । उहाँलाई धेरैले विद्वान सचिव भन्छन् । मैले पनि उपभोक्ताको क्षेत्रमा काम गरेको हुनाले उहाँसँग भेट भइराख्थ्यो । उहाँले मलाई माया पनि गर्नुहुन्थ्यो ।

एकपटक अन्नपूर्ण होटलमा एउटा कार्यक्रममा पूर्वसचिव ओझाले पेपर प्रस्तुत गर्नुभयो । सबैले उहाँको तारिफ गरे । मलाईचाहिँ हाँस उठ्यो ।
सो कार्यक्रममा मैले भनें- ओझाज्यू, तपाईलाई त यति धेरै कुराहरु थाहा रहेछ, आफैं सचिव हुँदाखेरि किन नगरेको त यो काम ? बाहिरबाट काठमाडौंमा अत्यावश्यक वस्तु आउँदा भन्सारमा भएका झण्झटबारे तपाईलाई यति धेरै थाहा रहेछ, आफैं, सचिव हुँदा किन कार्यान्वयन नगरेको ?

यसपछि बज्राचार्यले नेपाल सरकारका सचिवको आलोचना गर्न थाले-

पदमा हुँदाखेरि केही नगर्ने । सचिव हुँदाखेरि यति धेरै इन्फरमेशनहरु हुन्छन्, ती सूचना उनीहरु विदेशीलाई बेच्छन् । आइएनजीओहरुले त्यस्ता सूचना प्रयोग गरिराखेका हुन्छन् । आफ्नो देशलाई चाहियो भने एउटा फाइल पनि भेटिँदैन । आइएनजीओ/एनजीओले पनि यस्ता सचिव भइसकेका व्यक्तिहरुलाई हायर गरेर राखेको हुन्छ । सचिव हुँदा भन्दा पनि धेरै तलब दिएर काम गराएको हुन्छ । यसो गर्दा उनीहरुले १० वर्ष मेहनत गर्दा नपाउने सूचना क्षणभरमै पाउँछन् । यसरी विदेशीहरुले प्रयोग गरिरहेका छन् । जम्मै यस्तै हो क्या सबै ।

‘वचन फेर्नु र बाबु फेर्नु उस्तै हो’

तपाईले महानगरपालिकामा जित्नुभयो भने गर्नुहुन्छ चाहिँ के ? यो प्रश्नको जवाफ बज्राचार्यले यसरी फर्काएः

अहिले जुन अधिकारहरु महानगरपालिकाकालाई थप दिइएको छ, यो पाँच वर्षमा मोनो रेल, माथिको रेल, चलाउने त के यो नयाँ अधिकारहरुको अभ्यास गर्नलाई नै केही वर्ष लाग्छ । कहाँ कर उठाउने, के गर्ने भन्ने अध्ययन गर्नलाई नै केही वर्ष लाग्न सक्छ ।

कतिपयले स्मार्ट सीटी भनेका छन् । तर, यो काठमाडौं हेरिटेज सीटी हो । यसलाई पनि बचाउनुपर्छ । नयाँ एरियामा स्मार्ट सीटी बनाउनुपर्छ, परम्परागत ठाउँहरुलाई बचाउनुपर्छ ।

अहिले मल्टी स्टोरिङ पार्किङहरु बनाउन सकिन्छ । त्यसपछि फ्लाइओभरहरु बनाउँदा हुन्छ । जुनबेला सञ्चयकोषको बिल्डिङ बन्यो, सञ्चयकोषको काम बिजनेस गर्ने होइन, अन्यत्र जग्गा खरीद गर्न सक्थ्यो । मैले त्यहाँ मल्टी स्टोरेज पार्किङ बनाऔं भनेको थिएँ । त्यो गर्न सकेको भए फुटपाथमा जाम हुँदैनथ्यो । तर, मैले त्यसो भन्दा केशव स्थापित भाडामा दिएर आफू पैसा उठाउने योजनामा रहेछन् ।

सानो बच्चामा हामीलाई संस्कृत पढाउने बाजे हुनहुन्थ्यो, उहाँले हामीलाई वचन फेर्नु र बाबु फेर्नु एउटै कुरा हो भन्नुहुन्थ्यो । त्यसैले म फेर्नेखालको वचन गर्दिनँ ।

जनतालाई कोरा सपना देखाउने हैन, जनतासँगै बसेर हामीले काम गर्नुपर्छ । मैले वडामा काम गर्दा मैले त्यसैगरी समुदायलाई राखेर काम गरें । इञ्जिनियरलाई बोलाउँदा पनि कम्युनिटीलाई राखेर बाम गरें । ठेक्कामा लगाउँदा ५ लाख लाग्ने काम एक ३ लाखमै बन्छ । र, क्वालीटी पनि कमजोर हुँदैन । त्यसैले जनतासँग सँगै बसेर जानुपर्छ ।

साथैमा थिइन् उपमेयरकी दाबेदार सबिना अर्याल

हामीले मेयरका उम्मेदवार पवित्र बज्राचार्यसँग काठमाडौं महानगरका विषयमा कुरा गरिरहँदा उपमेयरकी उमेद्वार सबिना अर्याल पनि साथैमा थिइन् । नयाँशक्ति पार्टीबाट महानगरपालिकाको उपमेयरमा उठेकी अर्यालले आफ्नो संक्षिप्त भनाइ यसरी राखिन्ः

मेयरका उम्मेदवार पवित्र दाइले भनेकै कुराहरु मेरा पनि साझा हुन् । किनभने हामी दुबै मसाल चिन्हमा चुनाव लडिरहेका साझा उम्मेदवार हुन् ।

म न्यरोडको टेबाहलमा जन्मेकी हुँ । उषा मेसिन भएको घर, मेरो माइती नै त्यहीँ हो । गुदपाक पसल छेउमा लहरै अर्यालहरुको घर छन् । विवाह भएपछि हालको घर कोटेश्वरमा छ ।

मैले १२ कक्षासम्म सेन्ट मेरिजमा पढें । युकेमा होटल म्यानेजमेन्ट पढें । युरोपमा बस्दा बेल्जियममा एनआएनमा निर्वाचित संस्थापक महिला सदस्य भएर काम गरें ।

बेलायतमा होटल म्यानेजमेन्ट पढ्दै गर्दा पार्टीको विदेश विभाग सचिव थिएँ । नवराज सुवेदीजीहरुसँग नेकपा एकीकृतमा काम गरें । माओवादीसँग एकता भएपछि पनि केन्द्रीय सदस्य थिएँ । तर, प्रचण्डले केही गरेनन् । हामी उत्पीडनमा पर्‍यौं । पार्टीमा तेस्रो दर्जाको नागरिकजस्तै भइयो । हामीलाई बैठकमै बोलाइएन ।

मेरा श्रीमान् बसन्त दवाडीको संगतले पञ्चायतकालबाट वाम राजनीतिमा लागें । शशी श्रेष्ठ दिदीसँग संगत भयो । लीलामणि पोखरेलले त्यसबेला भाषण गर्न सिकाउनुहुन्थ्यो ।

अहिले उपमेयरको उम्मेदवार बनेपछि पवित्र बज्राचार्य दाइसँग भर्खरै सहकार्य सुरु भएको छ । हाम्रो नेचरको बण्डिङ मिलेको छ । एकदमै राम्रो सहकार्य भइरहेको छ ।

मैले राज्यको कुनै संरचनामा जोडिएर काम नगरे पनि राजनीतिक र सामाजिकरुपमा काम गरेकी छु । रिसर्चका कामहरु गर्दा समुदायलाई तलसम्म गएर मैले बुझेकी छु ।

संरचनागत हिसाबले स्थानीय निकायमा सही सरकारको अभ्यास अब प्रारम्भ भयो । यो स्थानीय तहलाई जुन पावर दिइएको छ, जनतामा त्यसको सेवा प्रवाह मुख्य कुरो हो, त्यो अब निर्विघ्न हुन्छ भन्ने लाग्छ । तर, यसलाई व्यवस्थापन कसरी गर्ने ? थाहा नभएको वा हिजो थाहा भएर पनि बुझ पचाएकाहरुलाई जिताएर यो काम हुन सक्दैन ।

पहिलो कुरा आधारभूत आवश्यकता नै हो । २ लाख ८४ हजार मतदाताहरुले मास्क लगाएर हिँड्ने वातावरण नहोस् । यसको व्यवस्थापनको भिजन हुनुपर्‍यो ।

मेरो एजेण्डामा पर्यावरण पहिलो हो । दोस्रो फोहोरमैला व्यवस्थापन हो । डा. भट्टराईले फोहोर व्यवस्थापन गर्न खोज्दा नदिएर राजनीतिक इस्यु बनाइयो । अब स्थानीय सरकारले यसलाई व्यस्थापन गर्न सक्छ ।

हामी राजधानीको फोहोरबाट वायो ग्यास बनाएर उर्जा धान्न सक्छौं । साना-साना पानीका स्रोतहरुलाई परिचालन गर्न सक्छौं ।

काठमाडौंको अर्को समस्या भनेको हामीले हेरिटेजलाई कसरी बचाउने भन्ने हो । प्रविधिको विकाससँगै परम्परालाई कसरी बचाउने ? यसलाई पनि बचाउँदै स्मार्ट सीटी बनाउनेतिर जानुपर्छ ।

उमेर पुग्नु भन्दा पहिले आँखाको दृष्टि कमी हुने यी ५ कारण, जानी राखौँ

ताजा खबर :- बढ्दो उमेरको साथै आँखाको दृष्टि कम हुने समस्या सबैलाई हुने गर्छ । तर हामी चश्माको मद्दतले दिनचर्या सामान्य बनाउने प्रयास गरिरहेका हुन्छौँ । यदी समय भन्दा अगाडि नै आँखाको दृष्टि कम हुनु हाम्रो जीवनशैली र चिकित्सा अवस्थामा निर्भर रहन्छ । यस्ता धेरै कारणहरू छन्, जसले तपाईको आँखाको दृष्टि कम हुन्छ । यसको ५ मुख्य कारणले गर्दा आँखामा समस्या आउने गर्छ । 

बढ्दो उमेरको कारण बाहेक आँखाको दृष्टि कम हुने समस्या यस्ता छन् ।

(१) दिनभरि स्क्रिनको नजिक बस्नु:- आजको समयमा स्मार्टफोन, कम्प्युटर, ल्यापटप, ट्याबलेट, र अन्य इलेक्ट्रोनिक सामानको प्रयोगकर्ता बढीरहेको छन् जसका कारण धेरै मानिसहरू स्क्रिनमा हेरेर लामो समय बिताउने गर्दछन । जसको दुष्परिणाम डीईएस (डिजिटल आई स्ट्रेन) हो, जसले आँखामा थकान हुनुका साथै धमिलो देखिन थाल्छ ।

(२) लामो समय कन्टेक्ट लेन्सको प्रयोग:- लामो समय सम्म कन्टेक्ट लेन्सको प्रयोग गर्नाले आँखामा ड्राईनेस हुने गर्छ । यदी तपाईको चश्मा बाट सबै सफा देखिरहेको छ भने यसको मतलब तपाईको कन्टेक्ट लेन्स फोहोर भैसकेको छ । यसकारण दिनहुँ चश्मालाई सफा गर्नुहोस् वा तपाईको लेन्स बक्समा दिएको निर्देशनलाई पालना गर्नुहोस् ।

(३) गर्भावस्थाको समय:- सामान्यतय महिलाहरूमा गर्भावस्थाको समयमा आँखामा धमिलोपनको समस्या हुने र कम देख्ने समस्या शुरू हुन्छ । यो हर्मोनल परिवर्तनको कारण हुन्छ । कहिलेकाहीँ यो समस्याले गम्भीर रूप लिने गर्छ ।  गर्भवती महिलामा आँखामा ड्राईनेसको समस्या हुन्छ, जसबाट कन्टेक्ट लेन्सको प्रयोग गर्न सहज हुँदैन ।

(४) ऐन्टीहिस्टमीन र ब्लड प्रेशरको औषधी सेवनले महिलालाई धेरै जसो सुख्खा आँखाको समस्या हुन्छ । डायबिटीज र अर्थराइटीजमा आँखाको दृष्टि कम हुने खतरा बढ्छ । यदी तपाईको आँखा पोल्ने र पानी आउने समस्या भैरहेको छ भने चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

(५) ग्लूकोमा:- ग्लूकोमा धेरै जसो ५० वा ६० वर्ष पछि हुने गर्छ तर हाम्रो जेनेरेशनमा ग्लूकोमा बच्चा देखि बृद्धा सम्म कसैलाई पनि हुन सक्छ । आँखाबाट पानी बग्ने समस्याले आँखामा भित्रै देखि प्रेशर बढ्छ । जसबाट आप्टिक नर्व खराब हुन् सक्छ । यसकारण हरेक २ वर्षमा आँखा चेकअप गर्न आवश्यक हुन्छ ।

The post उमेर पुग्नु भन्दा पहिले आँखाको दृष्टि कमी हुने यी ५ कारण, जानी राखौँ appeared first on Etajakhabar.

एक युवाले आफ्नी प्रेमिकासँग विवाह गर्न मोदीसँग मद्दत मागेपछि…

एजेन्सी । चण्डीगढका एक मेकानिकल इन्जिनियरिङका विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नी प्रेमिकासँग विवाह गर्नका लागि सहयोग मागेका छन् । उनले मोदीलाई दुवै पक्षको अभिभावकलाई आफूहरुको विवाहको लागि मनाइदिन स्वयंसेवक पठाइदिन अनुरोध गरेका छन् । यो एउटा मूर्खतापूर्ण मजाक होइन । यो ती मजाकपूर्ण अनुरोधहरु भित्र पर्छन् जहाँ दिनहुँ चण्डिगढबाट प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत जनगुनासो सम्बोधन र मनिटरिङ प्रणलीबाट आउने गर्छन् ।

चण्डिगढमा गुनासो प्रणाली सञ्चालन गर्ने अधिकारी भन्छन्, ‘करिब ६० प्रतिशत गुनासो र अनुरोधहरु मजाकपुर्ण हुन्छन् र हाम्रो मुहारमा हाँसो ल्याउँछन् ।’

अर्का बासिन्दाले कसैले आफ्नो बगैँचाको फुल आफ्नो अनुमति विना नै टिपेको र यसको लागि कसैले पनि आवश्यक कारवाही नगरेको गुनासो लेखेका छन्् । चण्डिगढ प्रशासनले प्रत्येक महिनामा प्रधानमन्त्री कार्यालयबाट ४ सयको हाराहारीमा गुनासोहरु पाउने बताएको जसमध्ये धेरैजसो व्यक्तिगत प्रवृतिका हुन्छन् ।

The post एक युवाले आफ्नी प्रेमिकासँग विवाह गर्न मोदीसँग मद्दत मागेपछि… appeared first on Sajha Post.

पर्वतमा दिलिप र रजनीको ‘रमिता’


नारायण रायमाझी निर्देर्शित चलचित्र ‘परदेशी’ हिट भएपनि नायिका रजनी केसीको करिअरमा खासै चमत्कार भएन । यसपछि, उनको शिर्ष भूमिका रहेको चलचित्र ‘ब्रासलेट’ प्रदर्शनमा आयो, उनले खासै तारिफ पाइनन् । यसपछि, रजनीको करिअर सोचेअनुरुप अगाडि बढेको छैन । ठूला ब्यानर र चलेका कलाकारसँग उनले काम गर्न पाएकी छैनन् । जबकी, उनको करिअरको सुरुवात निर्माता छविराज ओझाको ब्यानरबाट भएको हो ।

उनै, रजनी अहिले जसोतसो चलचित्र क्षेत्रमा दौडने कोशिश गरिरहेकी छिन् । उनी, अहिले नायक दीलिप रायमाझीसँग चलचित्र ‘रमिता’मा काम गरिरहेकी छिन् ।
रजनीले चलचित्र ‘रमिता’मा पनि गाउँकी सोझी केटीको भुमिका निर्वाह गरेकी छिन् । उनलाई मायाजालमा फसाउने काम दिलिप रायमाझीले गर्नेछन् ।

लामो समयपछि पर्वतको डाँडामा सुटिङ गर्दा रमाइलो लागेको दिलिपले बताए । गाउँले चरित्र निर्वाह गरेकी रजनीले उक्त चलचित्रमा पर्वतवासीकै शैलीमा बोल्ने प्रयाश गरेकी छिन् । भाषा एउटै भएपनि बोल्ने शैली केही फरक भएकाले बोल्न अलि गार्‍हो भएको रजनीको भनाई छ ।

लामो समयपछि प्रेमकथामा आधारित चलचित्रमा काम गर्न पाएकाले उत्साहित भएको धारणा राख्ने दिलिपले दर्शकले फेरि एकपटक आफ्नो प्रेममय छबी देख्न पाउने बताए । यसअघि दिलिपले ‘बाटो मुनीको फूल-२’मा ऋचा शर्माको प्रेमी भएर अभिनय गरेका थिए ।

भेनेजुएलाका राष्ट्रपतिविरुद्ध सेतो कपडा लगाएर हजारौँ महिलाले निकाले विरोध र्‍याली

काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजारौँ महिलाहरुले भेनेजुएलाको राजधानीमा शनिबार बृहत् र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ । महिलाले गरेको प्रदर्शनको नेतृत्व कारागारमा राखिएका विपक्षी दलका नेता लेओपोल्डो लोपेजकी श्रीमती तथा सांसद लिलिएन टिनटोरीले गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘अझै दमन गर’ लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीलाई सरकारी सुरक्षाकर्मीले विभिन्न ठाउँमा अवरोध गरेका थिए । विशेष गरेर गृहमन्त्रालय अगाडि प्रदर्शन गर्न खोज्दा उनीहरुलाई सुरक्षाकर्मीहरुले रोक्नुपरेको थियो ।

प्रदर्शनमा अरु पनि धेरै महिला सांसदहरु सहभागी थिए । उनीहरुले सडक अवरोध गर्नका लागि मात्रै नभई भेनेजुयलालाई स्वतन्त्र बनाउनका लागि सडकमा आएको बताएका थिए ।

मादुरो विरुद्धको यस्तै प्रदर्शन राजधानीबाहेक अन्य सहरहरुमा पनि भएका छन् । सान क्रिस्टोबल र अरागुआमा भएको विरोध प्रदर्शनहरुमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

वामपन्थी नेता तथा राष्ट्रपति मादुरोमाथि आन्दोलनरत प्रतिपक्षी दलले जसरी पनि मादुरो सत्तामा रहिरहन चाहेको र यसै मक्सतलाई पूरा गर्न निर्वाचन प्रक्रियालाई ढिलो गराएको आरोप लगाउँदै आन्दोलन भइरहेको छ ।

पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र भेनेजुयलामा पछिल्लो समय खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको अभाव हुन थालेको छ ।

विपक्षीले देशमा ७०० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको, सरकारले शान्ति तथा अमनचयन कायम गर्न नसकेको, संसद्को अधिकारमाथि हस्तक्षेप गरेकोजस्ता आरोप पनि लगाएका छन् ।

सरकारले भने प्राकृतिक रूपमा निम्तिएका समस्याप्रति सरकारलाई दोषी मान्न नमिल्ने तर्क गरेको छ । साथै राज्यद्वारा राष्ट्रपतिलाई दिएका कार्यकारी अधिकारको प्रयोग गर्नुलाई विपक्षीले कानुनी राज्यको अवधारणालाई लत्याएको भनेर अनावश्यक बखेडा झिकेको भन्दै सबै कुराको समाधान पारस्परिक वार्ताबाट हुने तथा आन्दोलनले थप आर्थिक सङ्कट निम्त्याउने सरकारी पक्षको भनाइ छ ।

सन् २०१३ मा राष्ट्रपतिमा निर्वाचित मादुरोले अमेरिकी चासोका विषयमा कम ध्यान दिएपछि सन् २०१९ मा कार्यकाल अन्त्य हुने भए पनि आफूविरुद्ध अमेरिकी पुँजीपतिहरूले पूरा कार्यकाल सम्पन्न गर्न नदिन षड्यन्त्र गरिरहेको बताउँदै आएका छन् ।

सङ्कटको समाधान मिलेर अघि बढ्दा जति सहज बन्नसक्छ तर सरकार र विपक्षीको द्वन्द्वले त्यति नै जटिल बनाउँछ ।

मादुरोविरुद्धको आन्दोलनमा एक महिनाको समयमा अहिलेसम्म ४० जनाभन्दाको मृत्यु भइसकेको छ । निजी सञ्चारमाध्यमले गरेका मत सर्वेक्षणमा मादुरोविरुद्ध करिब ७० प्रतिशत जनता रहेको बताइएको छ । रासस/एएफपी

The post भेनेजुएलाका राष्ट्रपतिविरुद्ध सेतो कपडा लगाएर हजारौँ महिलाले निकाले विरोध र्‍याली appeared first on Sajha Post.

Powered by keepvid themefull earn money